Tuesday, February 22, 2022

दोस्रो पत्र सेवा सम्बन्धी, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरह नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, (अप्राविधिक) पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा

 

 लोक सेवा आयोग

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरह (अप्राविधिक) पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा

पूर्णाङ्क :- १००

२०७८/११/१०

समय :-३ घण्टा

पत्रः द्वितीय

विषयः सेवा सम्बन्धी

तलका प्रश्नको उत्तर बेग्लाबेग्लै उत्तरपस्तिकामा लेखपर्नेछ, अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ ।

१.    मिश्रित अर्थव्यवस्थाको औजारको रूपमा सरकारी क्षेत्रमा उत्पादनमलक तथा सेवामलक स्वायत्त संस्थाहरू  खुलेका हुन् । नेपालमा पनि प्रजातन्त्रको स्थापनापछि थप्रै सार्वजनिक संस्थानहरू स्थापना भइ सञ्चालनमा आएका थिए । प्रजातन्त्रको पुनर्स्थापना पछि खुल्ला तथा उदार अर्थतन्त्रको अवलम्वन गरिया । धेरैजसो सार्वजनिक संस्थानहरू निजीकरण भए भने केही सार्वजनिक संस्थानहरू हाल सेवारत छन् । सार्वजनिक संस्थानहरू "सार्वजनिक रूपमा राखिरहनु पर्छ कि पर्दैन भन्ने विवादकै विषय छ। यस सन्दर्भमा तपाईको बिचार प्रस्तुत गर्दै सार्वजनिक संस्थानका सम्बन्धमा मुलुकले लिनु पर्ने नीतिगत अग्रसरता र सोका लागि आवश्यक कार्ययोजना तयार गर्नुहोस् ।

५+५+५=१५

२.    नेपालको संविधानले आयात व्यवस्थापन र निर्यात प्रवर्द्धनको क्षेत्रमा वैदेशिक पूँजी र प्रविधिको लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । नेपालमा वस्तु तथा सेवा निर्यातको तुलनामा आयातको आकार ठूलो र फराकिलो रहेको तथा निर्यातको विस्तार प्रायः स्थिर भएकाले व्यापार घाटा निरन्तर बढिरहेको छ । खासगरी निर्यात प्रवर्द्धनका लागि वस्तु र देशगत विविधिकरण गर्ने, निर्यातयोग्य कृषिजन्य वस्तुहरूको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने र स्वदेशमा नै वस्तु तथा सेवाको उत्पादन गर्न प्रोत्साहन गरी वैकल्पिक वस्तुको प्रयोग मार्फत आयात प्रतिस्थापन गर्ने जस्ता कुराहरू अन्तर्राष्ट्रिय व्यापारका क्षेत्रमा देखिएका प्रमुख चुनौती हुन । यसका अतिरिक्त पर्यटन लगायतका सेवा व्यापार तथा ऊर्जाको निर्यातबाट विदेशी मुद्रा आर्जन गर्ने, विप्रेषण आयलाई उत्पादनसँग जोड्ने र राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रको उत्पादन अभिवृद्धि गर्न लगानी आकर्षित गर्ने विषय पनि थप चुनौतीका रूपमा रहेका छन । यस्ता चुनौतीहरूका बीच निर्यात प्रवर्द्धन, वैदेशिक व्यापार सन्तुलन र शोधनान्तर बचत सहितको लक्ष्य हासिल गर्दै सन्तुलित वैदेशिक व्यापार, पर्याप्त विदेशी मुद्राको सञ्चिति र वाह्यक्षेत्र स्थायित्व सहितको सुदृढ अर्थतन्त्र निर्माणका क्रममा देखापरेका समस्या र जटिलताहरू विश्लेषण गर्दै त्यसका लागि अवलम्बन गर्नुपर्ने व्यावहारिक सुझाव सहितको रणनीतिक खाका प्रस्तुत गर्नुहोस् ।

२०

३.    कर्मचारीको तालिम र विकास संगठनात्मक क्षमता विकासको लागि अपरिहार्य हुन्छ । विशेषतः उत्पादकत्व वृद्धिमा सबैभन्दा ठूलो योगदान यसैको हुन्छ । तालिम र विकासको यही महत्वलाई दृष्टिगत गरी नेपालमा आधुनिक सार्वजनिक प्रशासनको शुरूवातसँगै कर्मचारीको तालिमको लागि संस्थागत व्यवस्था गरी तालिम दिने कार्य हुँदै आएको छ । खास गरी स्वायत्त र विशिष्टीकृत संस्था र क्षेत्रगत तालिम निकायको व्यवस्था, राष्टिय तालिम नीति र तालिमप्रति उत्प्रेरणा सिर्जनाको लागि कानूनी व्यवस्था गरिएको छ । यही व्यवस्था अन्तर्गत वर्षेनी सरकारले आफ्ना हजारौ कर्मचारीको लागि तालिम दिन ठूलो धनराशि खर्च गर्दै आएको छ।

तालिमको मुख्य उद्देश्य कर्मचारीको क्षमता अभिवृद्धि र प्रशासनिक मूल्य मान्यताप्रतिको प्रतिवद्धता बढाउने हो। दैनिक ठूलो परिमाणमा सेवाप्रवाह गर्नुपर्ने निकायमा देखिएको अव्यवस्था, योजनाका लक्ष्य प्राप्तिमा देखिएको कठिनाई, भ्रष्टाचार र अनियमितताको जोखिमले कर्मचारीको तालिम उद्देश्य अनुरूप प्रभावकारी नभएको देखाउँछ। सञ्चालित तालिम कार्यक्रमहरूबाट उत्पादकत्व र सदाचार अभिबृद्धिमा खासै योगदान पुग्न सकेको छैन । तालिमप्रति कर्मचारीमा उत्प्रेरणा र जागरूकता छैन् तालिम खाली बढुवाको लागि अङ्क आर्जन र अप्ठेरो परेको बेलामा समय विताउने साधन मात्र भएको आरोप लाग्ने गरेको छ ।

उपर्युक्त सम्बन्धमा तालिमको वर्तमान अवस्था परिवर्तन गरी प्रभावकारी बनाउन अवलम्वन गर्नुपर्ने माग सम्बन्धमा निम्न बुंदामा आफ्ना भनाई राख्नुहोस् ।

२०

क) सार्वजनिक संस्थाको लागि तालिमको महत्वबारे प्रकाश पार्नुहोस् ।

ख) नेपालमा कर्मचारीको तालिम सम्बन्धमा देखिएका समस्याहरू औल्याई समस्याको विश्लेषण गर्नुहोस्।

ग) सार्वजनिक क्षेत्रको तालिमलाई प्रभावकारी पार्न चाल्नुपर्ने नीतिगत र कार्यगत सुधारको खाका प्रस्तुत गर्नुहोस्।

 

४.    तीनै तहका इकाईहरूबाट आयोजना तयारीको प्रक्रिया नै पूरा नगरी अवलम्बन गरिएको सडक निर्माणको डोजरे विकास कार्यबाट साँच्चिकै रूपमा विकास नभई विनाश भइरहेको र यस्तो कार्यबाट ठूलो धनजन लगायतको मानवीय क्षती हुन गई देशको अर्थतन्त्रमै गम्भीर असर परिरहेको छ । गाउँघरका भित्ता, पाखापखेरा डोजरे विकास निर्माणले राताम्मे देखिन्छन् । यस्तो विकासे मोडलबाट भूक्षय र पहिरोको जोखिम बढी कतिपय गाउँघर नै ध्वस्त भएका छन् । विकासका नाममा विनाशतर्फ उन्मुख भई गरिएका दीर्घकालिन सोच र योजनाविहीन यस्ता क्रियाकलापबाट हाम्रो समग्र विकास प्रक्रियामा परेका असरहरूको विवेचना गर्दै दीर्घकालिन सोंच सहितको योजना, कार्यक्रमका साथ देशका सबै गाउँको समानस्तरको विकास निर्माणको कार्य गर्ने गरी दिगो रूपमा विकास व्यवस्थापन गर्न एवं दिगो विकास लक्ष्य हासिल गर्न (To attain sustainable development goal) तीनै तहका सरकारहरू बीच के-कस्तो समन्वय हुनुपर्ने देख्नुहुन्छ? यसका लागि कुन-कुन तहको भूमिका के-कस्तो हुनुपर्ने हो? संविधानको अनुसूचीले दिएको एकल र साझा जिम्मेवारी कसरी सम्पादन भई दिगो एवं भरपर्दो विकास हुनसक्ला? स्पष्ट रेखाङ्कन र दृष्टिकोण सहितको सुझाव प्रस्तुत गर्नुहोस् ।

२०

५.    राज्य सञ्चालनका सन्दर्भमा शासकीय कार्यको मार्गचित्रको रूपमा सार्वजनिक नीति बन्ने गर्दछन् ।सार्वजनिक नीतिको माध्यमबाट मुलुकले राजनीतिक र विकासका सोचलाई कार्यान्वयन तहमा पुयाएर मुलुक र जनताको आवश्यकता अनुसारको नतिजा प्रवाह गर्दछ । सार्वजनिक नीतिले दिएको परिधिभित्र रहेर कार्यक्रम लगायत विकासका गतिविधिहरू तर्जुमा गरी कार्यान्वयनमा पुयाइएका हुन्छन् । यस अर्थमा सार्वजनिक नीति मुलुकको आर्थिक सामाजिक हिसाबले रूपान्तरण गर्ने गराउने एउटा अत्यन्त महत्वपूर्ण वैधानिक माध्यम हो । यदि सार्वजनिक नीतिले धरातलीय यथार्थलाई सम्बोधन गर्न सकेन भने त्यो नीति प्रभावकारी हुन सक्दैन । कार्यान्वयनको क्रममा सफल हुन सकेन भने जस्तोसुकै सार्वजनिक नीति तर्जुमा भए पनि त्यसले कुनै अर्थ राख्दैन । नीति राम्रो बन्ने तर कार्यान्वयन नहुने, भएकोमा पनि नतिजा कमजोर हुने आमरूपमा स्वीकारिने गरेको छ ।

केन्द्रीय तथ्याङ्क विभागबाट राष्ट्रिय तथ्याङ्क निकाल्ने र विषयगत तहबाट समेत तथ्याङ्कहरूको संकलन, प्रकाशन र सूचना प्रवाह समेत हुने गरेको छ । अनुसन्धान संस्थाहरूबाट समेत अनुसन्धानात्मक विवरण र आलेखहरू प्रकाशित हुने गरेको छ भने नीति तर्जुमा सम्बद्ध जनशक्तिका लागि तालिम तथा क्षमता विकासका कार्यहरू भइरहेका छन् । तर पनि तथ्यमा आधारित नीति तर्जुमामा यसको उपयोग नितान्त कमजोर छ । नीति तर्जुमा गर्दा एउटै गल्ती पटक-पटक दोहोरिने र सफल नीतिका राम्रा अभ्यासहरूको अनुशरण नहुने अवस्था समेत विद्यमान छ । कतिपय नीतिहरू प्रारम्भिक चरणमा नै र कतिपय निर्णयको चरणमा पुग्दा नपुग्दै यसका विषयवस्तुहरू माथि नै प्रश्न उठ्ने र विवादित हुने गरेको पाइन्छ । उपर्युक्त परिप्रेक्ष्यलाई समेत दृष्टीगत गरी सार्वजनिक नीतिको तिर्जुमा प्रक्रिया र त्यसमा देखिएका सर्वल दर्वल पक्षहरूलाई यथार्थपरक ढङ्गले विश्लेषण गर्दै नीतिलाई तथ्यमा आधारित (Evidence-based) र सवल बनाउन विद्यमान नीति तर्जुमा प्रणालीमा के-कस्तो सुधार गर्नुपर्ला? व्यावहारिक र कार्यान्वयनयोग्य सुझाव प्रस्तुत गर्नुहोस् ।

२५

 

 

Friday, February 18, 2022

विषय :- प्रशासन र व्यवस्थापन (प्रथम पत्र ) लोक सेवा आयोग राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरह (अप्राविधिक) पदको आन्तरिक प्रतियोगितात्मक (संयुक्त) लिखित परीक्षा २०७८/११/०६

लोक सेवा आयोग राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरह (अप्राविधिक) पदको आन्तरिक प्रतियोगितात्मक (संयुक्त) लिखित परीक्षा

२०७८/११/०६

समय :-३ घण्टा

पूर्णाङ्क :- १००

पत्र:- प्रथम                                                            

विषय :- प्रशासन र व्यवस्थापन

तलका प्रश्नको उत्तर बेग्लाबेग्लै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ, अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ ।

 

१. नेपालको संविधानले राज्य सञ्चालनका प्रमुख तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाहरू बीच शक्ति सन्तुलन र नियन्त्रणको व्यवस्था गरेको छ । शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तको अवलम्बनलाई लोकतान्त्रिक शासन व्यवस्थाको मापन गर्ने आधार पनि मानिन्छ । कानूनको शासन स्थापनाका लागि राज्यका प्रमुख अङ्गहरू बीच शक्तिको समुचित बाँडफाँट गरिनु जति आवश्यक छ शक्तिको प्रयोगलाई व्यवस्थित गर्नका लागि एक अर्काको काममा नियन्त्रण र सन्तुलनको त्यति नै आवश्यकता रहेको हुन्छ । नेपालको संविधानमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीचको नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई कसरी अङ्गिकार गरिएको छ? के व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका माथि शक्ति पृथकीकरणको सिद्धान्त भित्रै रहेर नियन्त्रण र सन्तुलनको भूमिका खेल्न सकेको छ? वर्तमान नेपालको संविधान जारी भएपछि कतै यी तीन निकाय बीचको सन्तुलन र नियन्त्रणको कडी कार्यान्वयनका क्रममा कमजोर भएको त होइन? यस परिप्रेक्ष्यमा संवैधानिक व्यवस्थाको कार्यान्वयनमा देखिएका समस्याहरू विश्लेषण गर्दै यी तीन अङ्गहरू बीच शक्ति सन्तुलन र नियन्त्रणको प्रभावकारी व्यवस्था कसरी गर्न सकिन्छ? प्रस्तुत गर्नुहोस् ।                                            

 १५

 

२. आर्थिक कुटनीतिको फलदायी परिचालनबाट मुलुकको अर्थतन्त्र र औद्योगिक विकासमा सहयोग पुग्छ। चीन र भारत जस्ता आर्थिक र प्राविधिक क्षेत्रमा प्रगति गरिरहेका विशाल छिमेकीहरूको बीचमा रहेको नेपालले आफ्नो लागि अनुकूलता सिर्जना गरेर अधिकतम फाइदा लिन क्रियाशील हुनु पर्थ्यो तर सोचे जस्तो हुन सकेको छैन । राष्ट्रको आर्थिक हितलाई केन्द्रविन्दु बनाएर द्विपक्षीय छलफल, कुराकानी, सम्झौताहरू हुनुपर्ने र भएका सम्झौताहरूको कार्यान्वयन गरेर फाइदा लिनुपर्नेमा, ती कामहरू हुन सकेको पाइदैन । सरकार आर्थिक कुटनीतिलाई परिणाममुखी बनाउन आफ्ना राजदुतावासहरूलाई परिचालन गर्ने गराउने कार्यमा पछाडी परेको देखिन्छ । निजी क्षेत्र पनि यस दिशामा गम्भीर हुन सकेको पाईदैन ।

यस सन्दर्भमा नेपालले आर्थिक कुटनीतिको माध्यमबाट मुलुकको उद्योग र व्यापार क्षेत्रको बृद्धि र विस्तार गर्न देखिएका कठीनाईहरूलाई पहिचान गर्दै के-कस्ता व्यावहारिक उपायहरू अवलम्बन गरेर निराकरण गर्न सकिन्छ? रचनात्मक विचार प्रस्तुत गर्नुहोस् ।   
                                                                                                                 १०+१०=२०

 

३. विकासलाई सकारात्मक परिवर्तनका साथै साधन र साध्यका रूपमा समेत लिइन्छ । विकासका सन्दर्भमा नयाँ नयाँ प्रवत्ति र उपागमको विकास र प्रयोग हुँदै आएको छ । विकासका नवीनतम उपागमहरू (Recent Approaches of Development) को अध्ययन, अनुसन्धान र प्रादुर्भाव समेत भईरहेको पाइन्छ । यसै सन्दर्भमा मुलुकको दिगो विकासमा जलवायु परिवर्तनको मुद्दाले नयाँ खालको चुनौती थपिदिएको छ । जलवायु परिवर्तनले नेपाल जस्तो अतिकम विकसित र पर्वतीय मुलुकको दिगो विकासमा के-कस्तो प्रभाव पार्न सक्ने आँकलन गर्न सकिन्छ? प्रस्तुत चुनौतीको सामना गर्न आवश्यक पर्ने तत्परता (Preparedness) का लागि के-कस्ता तत्कालिन (मध्यमकालिन र दीर्घकालिन उपायहरू) अवलम्बन गर्नुपला? राय सुझावहरू प्रस्तुत गर्नुहोस्।                   

२०

४. नेपाल जस्तो विकासोन्मुख मुलुकमा राजस्व र वैदेशिक अनुदानबाट मात्र विकासका उच्च आकांक्षा पुरा गर्न सम्भव नहुने हुँदा समष्टिगत आर्थिक स्थायित्वलाई ध्यानमा राखेर नपुग स्रोत परिचालनका लागि सार्वजनिक ऋणलाई महत्वपूर्ण स्रोतका रूपमा उपयोग गरिन्छ । हाम्रो सन्दर्भलाई हेर्ने हो भने सार्वजनिक ऋणलाई उच्च प्रतिफल दिने क्षेत्रमा मात्र परिचालन गर्न, सार्वजनिक ऋणको प्रभावकारी रूपमा जोखिम व्यवस्थापन गर्नु, निजीक्षेत्रको लगानी निरूत्साहित नहुने गरी आन्तरिक ऋण परिचालन गर्नु र आन्तरिक पूँजी परिचालन क्षमता बढाई बिदेशी ऋणको भार कम गर्नु प्रमुख चुनौतीको रूपमा रहेका छन । यसका साथै समष्टिगत आर्थिक स्थायित्व कायम गर्नु, आन्तरिक ऋणको परिचालनका अल्पकालिन तथा दीर्घकालिन उपकरणप्रति लगानीकर्ताको आकर्षण बढाउनु, दीर्घकालिन ऋणपत्रको उपयोग बढाई पूँजी बजारको विकास गर्नु र संघ, प्रदेश र स्थानीय तहले परिचालन गर्ने सार्वजनिक ऋणको समन्वय र व्यवस्थापन गर्न संघीय सरकारको प्रमुख काम हो ।

प्रस्तुत पृष्ठभूमिमा समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै वित्तीय प्रतिफल उच्च भएका परियोजनामा मात्र/ सार्वजनिक ऋण परिचालन हुने व्यवस्था गरी सबल अर्थतन्त्र निर्माण गर्न के-कस्ता नीति तथा रणनीतिहरु अख्तियार गर्नुपर्ला? व्यवहारिक सुझाव सहितको खाका प्रस्तुत गर्नुहोस् ।                                                  २०

 

५. नेपालको संविधान जारी भए पछिको नितान्त नयाँ संरचनाको रूपमा प्रदेश अस्तित्वमा आएको छ । यसबीच प्रदेशहरूबाट आधारशीला कानूनहरूको निर्माण, संगठनात्मक संरचनाको स्थापना र तिनलाई क्रियाशील बनाउने कार्य भएका छन् । आवधिक योजना निर्माण गरी प्रदेश विकासका मार्गचित्र कोरिदै छन । कतिपय प्रदेश सरकारले केही महत्वाकांक्षी कार्यक्रमहरू आरम्भ नगरेका पनि होइनन तर संविधानको परिकल्पना र दिएको जिम्मेवारीका हिसावले प्रदेशले निकै लामो दुरी तय गर्नुपर्ने अवस्था विद्यमान छ ।

नयाँ संरचना भएका कारण प्रदेश सरकारहरू संगठनात्मक व्यवस्थापन, कार्यप्रणालीको निर्धारण, आफ्नो कार्यजिम्मेवारी अनुसारको दायित्व निर्वाह गर्नुपर्ने चुनौतीहरूका बीच रूमलिरहेका छन् । स्थानीय तह र संघीय तह बीचको समन्वयको जिम्मेवारी समेत प्रदेशमा छ । यसको प्रमुख सचिव र सचिवको रूपमा काम गर्न संघीय निजामती सेवाबाट पठाउने गरिन्छ । सामान्यतयाः विशिष्ट श्रेणीमा बढुवा भएका नयाँ कर्मचारीहरूलाई प्रमुख सचिवको जिम्मेवारी प्रदान गरी पदस्थापन गर्ने गरिएको छ । पछिल्लो समयमा ज्येष्ठतम कर्मचारीलाई प्रदेश सचिवको रूपमा खटाउने अभ्यास आरम्भ भएको छ । संघमा विशिष्ट श्रेणीको पद रिक्त हुनासाथ प्रमुख सचिवको सरूवा हुने, प्रदेश सचिवहरूको पनि सामान्यतयाः एक वर्षमा सरूवा हुने गर्दा नयाँ-नयाँ संरचनाको रूपमा रहेको प्रदेशको प्रशासनिक नेतृत्वमा अस्थिरता सिर्जना हुने गरेको छ । संघीय तहका कर्मचारीहरू प्रदेशमा काम गर्न खासै उत्साहित देखिदैनन् । प्रदेशको स्थायी सरकारको रूपमा रहेका निजामती कर्मचारी परिचालन गर्ने प्रदेश निजामती सेवा ऐन, एउटा प्रदेश बाहेकले तर्जुमा गर्न सकेका छैनन् । प्रदेशमा विकसित राजनीतिक अस्थिरताले प्रदेश मन्त्रालयहरू टुटफुट गरी बिस्तार गर्ने क्रम बढिरहेको छ । प्रदेशलाई आफ्नो प्रशासनिक संरचना आफै बनाउन सक्ने स्वायत्तता छ । कतिपय प्रदेशले बोझिलो संगठन संरचना प्रस्ताव गरेको भन्ने छ भने नियमित संरचनाबाट हुने कामका लागि समेत विभिन्न समिति, प्रतिष्ठान, आयोग स्थापना गरी राजनीतिक नियुक्ति गर्ने प्रवृत्ति बढेको छ । ठूला ठूला लक्ष्यसहित बनेका आवधिक योजनाको कार्यान्वयन संयन्त्र कमजोर छ । स-साना आयोजनाको चाङमा प्रदेशका निकायहरू अलमलिएका छन् । प्रायः सबै प्रदेशहरूको ध्यान संविधानप्रदत्त प्रदेशको राजस्व सुदृढ गर्नमा भन्दा प्राप्त हुने वित्तीय हस्तान्तरणमा केन्द्रित देखिन्छ । कर्मचारी र प्रशासनिक अस्थिरताका बीच प्रदेशको योजना कार्यान्वयन कमजोर र पूँजीगत खर्च समेत न्यून रहने गरेको छ ।

प्रदेश सरकारको प्रभावकारिताले संघीय प्रणालीको सफलतामा योगदान पुग्ने हुन्छ । प्रदेश सरकारहरूको पहिलो कार्य अवधि सम्पन्न हुने चरणमा छ । प्रदेश तहको सरकार संवैधानिक कार्यजिम्मेवारी अनुकूल हुने संगठन संरचना, कर्मचारी व्यवस्थापन, योजना तथा कार्यक्रम निर्माण, कार्यविधि र कानून निर्माण, अनुगमन तथा स्थानीय तहबीचको समन्वय तथा संघ र स्थानीय तहबीचको पुल बन्ने गरी अगाडि बढ्न सके मात्र प्रदेश सरकारको औचित्य पुष्टि हुन्छ ।

यस परिप्रेक्ष्यमा तपाईलाई प्रदेश सरकारले प्राथमिकताका साथ चाल्नुपर्ने कदमबारे कार्यान्वयनयोग्य सझाव सहितको समस्या समाधानका उपाय प्रस्तुत गर्ने जिम्मेवारी दिइएका छ । देहायका करालाई समेत बिचार गरी आग प्रतिवेदन प्रस्तुत गर्नुहोस् ।  

                                                                                                        ५+५+५+५+५=२५

क) प्रदेश सरकारले संविधानतः खेल्न सक्ने उत्तम भूमिका र सम्पादन गर्नसक्ने मुख्य-मुख्य कामहरू,

ख) उपयुक्त काम गर्नका लागि चाहिने न्यूनतम प्रशासनिक संगठनात्मक स्वरूप, जनशक्ति व्यवस्थापन, त्यसको परिचालन नियन्त्रण र अनुगमन प्रणाली,

ग) अन्तर स्थानीय तह समन्वय र केन्द्र तथा स्थानीय तहबीचको पुलको भूमिका निर्माण गर्न आवश्यक संरचनागत तथा कानूनी व्यवस्था,

घ) विकास निर्माणका कामलाई जनताले अनुभूत गर्ने गरी तलसम्म लैजान चाहिने प्रशासनिक, प्राविधिक, कानूनी तथा प्रकृयागत व्यवस्था,

ङ) आफूले सम्पादन गरेका कामको पृष्ठपोषण, अनुगमन, मूल्याङ्कन सम्बन्धी कार्यप्रणाली र नतीजा प्रतिको उत्तरदायित्व ।