Tuesday, September 5, 2023

१५ औं आवधिक योजनाको समीक्षा

पन्ध्रौं योजना (२०७६/७७-२०८०/८१) कार्यान्वयनको चार वर्ष व्यतित भइसकेको छ । दीर्घकालीन सोच २१०० अन्तर्गत पहिलो पाँच बर्ष समृद्धिको आधार सिर्जना गर्ने लक्ष्यका साथ अघि सारिएको पन्ध्रौं योजना कार्यान्वयनको पहिलो आर्थिक वर्षमा नै कोभिड-१९ महामारीले देशको आर्थिक-सामाजिक अवस्थामा गम्भीर असर परेका कारण मुलुकको अर्थतन्त्र खुम्चिन पुग्यो । योजनाले तय गरेका नीति, रणनीति, कार्यनीति र कार्यक्रमहरूको कार्यान्वयनमा अपेक्षित् तीव्रता दिन सकिएन । कोभिड १९ महामारीको कारण योजनाले तय गरेका प्राथमिकताहरू समेत बदलिए । विश्व अर्थतन्त्रमा आएको परिवर्तन र कोभिड-१९ महामारीका कारण भोग्नु परेको आर्थिक सङ्कुचनबाट उत्पन्न चुनौतीहरू सम्बोधन गर्न आर्थिक पुनरुत्थान र राहतका कार्यक्रमहरू सञ्चालन गरिए। अर्थतन्त्रको कमजोर उत्पादन क्षमता, बढ्दो उपभोगको प्रवृत्ति, चालु खाता घाटा, वैदेशिक मुद्राको सञ्चितिमा दवाब जस्ता कारणहरू अर्थतन्त्रको बाह्य क्षेत्र व्यवस्थापनमा समेत चुनौती थपियो ।

पन्ध्रौं योजना अवधिमा आधारभूत मूल्यमा ९.६ प्रतिशतको औषत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य रहेकोमा कोभिड-१९ महामारीको कारण योजनाको पहिलो वर्ष नै आर्थिक वृद्धिदर २.४ प्रतिशतले ऋणात्मक रहन गयो । कोभिड महामारी पछि पुनरुत्थानतर्फ अग्रसर भएको अर्थतन्त्रमा रुस युक्रेन युद्धले थप चुनौती सिर्जना गन्यो । बाह्य प्रभावका साथै आन्तरिक संरचनागत समस्या समेतको कारण योजनाको दोस्रो र तेस्रो वर्षमा आर्थिक वृद्धिदर क्रमशः ३.८ प्रतिशत र ५.५ प्रतिशत रह्यो भने चौथो वर्ष २.२ प्रतिशत रहेको अनुमान गरिएको छ। यस अनुरुप योजनाको पहिलो चार वर्षको औषत आर्थिक वृद्धिदर २.४ प्रतिशतमा सीमित हुने देखिन्छ ।

आधार वर्ष २०७५/७६ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १४.३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६०.१ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७९/८० मा त्यस्तो योगदान क्रमश: २४.६ प्रतिशत, १३.० प्रतिशत र ६२.४ प्रतिशत रहेको अनुमान छ। विप्रेषण, सेवा व्यापार र सरकारी खर्चले सेवा क्षेत्रको विस्तार गर्न सहयोग पुयाएको छ । योजनाले आर्थिक वर्ष २०७९/८० मा प्रतिव्यक्ति राष्ट्रिय आय १४५६ अमेरिकी डलर पुयाउने लक्ष्य लिएकोमा १४१० अमेरिकी डलर पुगेको छ। गरिबीको रेखामुनि रहेको जनसङ्ख्या आ.ब.२०७९/८० सम्ममा ११.२ प्रतिशतमा घटाउने लक्ष्य राखिएकोमा १५.३ प्रतिशतमा घटेको अनुमान छ । बहुआयामिक गरिबी २८.६ प्रतिशतबाट १७.४ प्रतिशतमा घटेको छ ।

यस अवधिमा योजनाले परिलक्षित गरेका सामाजिक सूचकहरूको लक्ष्य प्राप्ति मिश्रित छ । जन्म हुँदाको अपेक्षित् आयु, पाँच वर्ष मुनिको बाल मृत्युदर, किशोरी अवस्थाको प्रजनन् दर, आधारभूत तह (कक्षा १-८) को शिक्षामा खुद भर्ना दर, इन्टरनेटमा पहुँच प्राप्त जनसङ्ख्याको प्रतिशत, बिद्युतमा पहुँच प्राप्त जनसङ्ख्याको प्रतिशत, मानब विकास सूचकाङ्क, आधारभूत खानेपानी पुगेको जनसङ्ख्याको प्रतिशत लगायतका सूचकमा प्राप्त उपलब्धिहरू सन्तोषजनक रहेका छन् । सामाजिक क्षेत्र तर्फका कतिपय उपक्षेत्रमा कोभिड-१९ महामारीले पारेको असरका कारण योजनाले लिएका कतिपय लक्ष्यहरू हासिल हुन सकेनन् । सडक तथा अन्य यातायात पूर्वाधारमा पनि न्यून उपलब्धि हासिल भएको छ । यिनै कारणहरूले गर्दा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने कार्य थप चुनौतीपूर्ण बनेको छ ।

(स्रोतः १६ ‌‍औं योजना अवधारणापत्र 2080 श्रावण) 

No comments:

Post a Comment